काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नगरस्तरीय खैजडी भजन प्रतियोगिता सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना र जेष्ठ नागरिक सञ्जाल मेलम्ची नगरपालिकाको समन्वयमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा नगर भित्रका ८ वटा वडा सहभागी भएका थिए । जसमा मेलम्ची नगरपालिका वडा नम्बर १२ प्रथम, वडा नम्बर ८ द्वितिय र वडा नम्बर १० तृतिय भएका थिए । प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश नगद १२ हजार,१० हजार र ८ हजार पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कला र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले जेष्ठ नागरिक हाम्रो समाजको गहना भएकाले उहाँहरुसँग भएका प्रतिभा तथा कलाहरुको संरक्षण गर्दै पुस्तान्तरणको खाँचो रहेको औल्याए । कार्यक्रममा सहभागिहरुलाई बधाई तथा धन्यवाद ब्यक्त गर्दै प्रमुख तामाङले आगामी दिनमा पनि हुने यस्ताखाले कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा उपप्रमुख उमा प्रधानले मौलिक कला र संस्कृतीको प्रचारप्रसार र संरक्षण जरुरी रहेको बताइन् । विशेषगरी हाम्रो समाजमा हरेका जेष्ठनागरिकहरु बहुप्रतिभाका खानी भएकाले दोस्रो पुस्ताले ति कार्यहरुको अनुसरण गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका सभापति नगर जेष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालले लोप हुन लागेको मौलिक भजन जोगाउन तथा प्रचारप्रसार गर्न प्रतियोगिताको आयोजना गरेको बताए । उनले जेष्ठ नागरिकहरुको सम्मानका अन्य थुप्रै कार्यक्रमहरु आवश्यक रहेकाले निरन्तर समन्वय गरिरहने बताए।
मेलम्ची नगरपालिकाका राजस्व शाखा र महिला वालबालिका तथा समावेशिकरण शाखा प्रमुख राजेन्द्र दुलालले सञ्चालन गरेको उक्त कार्यक्रममा भवनाथ आचार्य भरत प्रसाद तिमल्सेना र तिर्थनाथ आचार्यले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।