देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनमा पनि कालीगण्डकी करिडोरको काम धमाधम

0
<p>सांकेतिक तस्बिर</p>

सांकेतिक तस्बिर

(काठमाडौं) – कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरूपमा अगाडि बढाउने साहस पनि यही बीचमा प्रदर्शन भइरहेको छ । बन्दाबन्दीको समय आफैंमा कष्टकर भए पनि अन्य उपाय छैन सरकार र नागरिकका सामु ।

यही बीचमा केही आयोजनाले भने आशाको सञ्चार गरिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन आयोजनालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा स्पष्ट दृष्टिकोण तयार पारेका कारण काम धमाधम भइरहेको छ । आगामी असारभित्रै देशको सबभन्दा ठूलो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ। माथिल्लो तामाकोशीको काम पनि गतिमा नै छ । यसले विपदमा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारको रूपमा रहेको ऊर्जा क्षेत्रमा भए गरेका कामलाई थप सहजीकरण गर्न हरदम प्रयास भइरहेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दार भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिलाई पनि सकेसम्म परिणाममुखी बनाउन हरदम प्रयत्न गरिरहेका छन् । सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पुर्‍याएको छ ।

ऊर्जा मन्त्रालय र प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन) का बीच पनि स्वास्थ्य सुरक्षा सम्बन्धी प्रावधानहरूको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ ।

दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ। दुवै सबस्टेसनका अधिकांश उपकरणहरू जडान भइसकेको प्राधिकरणले जनाएको छ । दाना-कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

सो प्रसारण लाइनको अवस्थाका बारेमा कार्यकारी निर्देशक घिसिङले गत फागुनको अन्तिम सातामा स्थलगत निरीक्षण गरेका थिए । पछिल्लो पटक उनले नियमित रूपमा आयोजनाको अवस्थाका बारेमा जानकारी लिँदै स्थानीय स्तरमा समन्वय गरिरहेका छन् ।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ।

हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत् प्रवाह भइरहेको छ । घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए ।

उनले भने, ‘गत वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरू गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरूको दह्रो साथ र सहयोग पाएका छौं, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ।’

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर आयोजनामा ठूलो सहयोग पुर्‍याउनु भएको प्राधिकरणको बुझाइ छ । स्थानीय स्तरमा हुने सहयोग र समन्वय नै ठूला आयोजनाका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ । प्रसारण लाइनमा हरेक टावर नै एउटा आयोजना जस्तो बन्ने नेपालको विकासको विकृतिलाई अन्त्य गर्न स्थानीय प्रशासनले गरेको सहयोग आफैंमा अनुकरणयोग्य रहेको प्राधिकरणको भनाइ छ ।

कूल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक  टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइनमुनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । उनले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीव्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरू गरिएको हो ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन) सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ । सो प्रसारण लाइनलाई पनि थप गति दिने प्रयास भइरहेको छ । प्राधिकरणका रुग्ण भनिएका आयोजनालाई सम्पन्न गर्न विशेष पहल भइरहेको छ। त्यसले नागरिकमा एक खालको उत्साह ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । (रमेश लम्साल/रासस)

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार