देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शुल्क नतिरेको भन्दै एसइईको तयारी परीक्षा दिनबाट रोकियो

0

काठमाडौं – काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाई सेकेन्डरी स्कुलले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा १० मा अध्ययनरत सोफी शेर्पालाई स्कुलले परीक्षा दिन रोक लगाएको हो ।

स्कुलले बुधबारदेखि एसइई (सेकेन्डरी इजुकेसन एक्जामिनेसन)को तयारीमा रहेका विद्यार्थीको ‘फाइनल टर्मिनल’ परीक्षा लिइरहेको छ । सोफी पनि एसइई परीक्षाको तयारीमा छिन् । तर, स्कुलले उनलाई शुल्क नतिरेको भन्दै परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा पाँचमा अध्ययनरत उनका भाइ फुर्वा शेर्पालाई पनि स्कुलले बुधबारदेखि नै विद्यालय प्रवेशमा रोक लगाएको छ । 

नयाँ पत्रिकाको सम्पर्कमा आएका स्कुलका एकाउन्टेन्ट राजु श्रेष्ठले शुल्क नतिरेपछि सोफीको परीक्षा रोकिएको स्वीकार गरे । ‘म स्कुलको प्रिन्सिपल होइन । उनीहरूको डिटेल जानकारी मलाई थाहा भएन । पढाउने म्यामहरूको भनाइअनुसार उनीहरूले शुल्क तिरेका छैनन् । सोही कारण परीक्षा दिन रोकिएको होला,’ उनले भने ।

सोफी र फुर्वाका बाबु कामी शेर्पाले भने दुवैको शुल्क चुक्ता भइसकेको र उनीहरूले आफूसँग थप एक लाख रुपैयाँ मागिरहेको बताए । सोही रकम तिर्न नसकेपछि स्कुलले छोरी सोफीलाई परीक्षा दिन रोक लगाएको र छोरा फुर्वालाई विद्यालय प्रवेश गर्न नदिएको दाबी गरे । ‘मैले स्कुललाई उनीहरू आफैँले तयार गरेको मापदण्डभन्दा धेरै शुल्क बुझाएको छु । तर, उनीहरूले विभिन्न शीर्षकमा थप एक लाख रुपैयाँ माग गरेका छन् । थप रकम किन तिर्नु ? मैले रकम तिर्न इन्कार गरेँ । बदलामा उनीहरूले छोरीलाई एसइईको मुखमै परीक्षा दिनबाटै वञ्चित गराए । छोरालाई स्कुल प्रवेश गर्न दिएनन् । यसले मेरा स–साना छोराछोरीमा गम्भीर मानसिक असर परेको छ,’ उनले भने ।

कामी शेर्पाका अनुसार स्कुलले काठमाडौं महानगरपालिकामा बुझाएको शुल्क मापदण्डभन्दा आफूसँग धेरै रकम असुल गरेको बताए । महानगरपालिकामा स्कुलले पेस गरेको शुल्क तालिकाअनुसार कक्षा ९ र १० का लागि वर्ष दिनभित्र बुझाउनुपर्ने शुल्क दुई लाख ५० हजार तीन सय २५ रुपैयाँ निर्धारण गरिएको छ । कक्षा चार र पाँचका लागि वर्ष दिनको शुल्क एक लाख २३ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । उल्लेखित शुल्क मासिक पढाइ, वार्षिक, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, शैक्षिक भ्रमण, शैक्षिक सामग्री खरिदबापतको एकमुस्ट शुल्क हो । 

तर, नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार कामी शेर्पाले छोरी सोफीका लागि कक्षा ९ र १० मा शुल्कबापत दुई लाख ५७ हजार नौ सय ९० रुपैयाँ बुझाएको देखिन्छ । जुन स्कुलले महानगरपालिकामा पेस गरेको शुल्क विवरणभन्दा सात हजार ६ सय ६५ रुपैयाँले धेरै छ । त्यस्तै, छोरा फुर्वाका लागि कक्षा चार र पाँचमा शुल्कबापत एक लाख ३८ हजार रुपैयाँ बुझाएको देखिन्छ । जुन महानगरपालिकामा पेस गरिएको शुल्क विवरणभन्दा १४ हजार सात सय ५० रुपैयाँले धेरै छ । 

‘मैले स्कुललाई उनीहरू आफैँले निर्धारण गरेको शुल्कभन्दा धेरै रकम बुझाएको छु । मसँग यसका सबै प्रमाण छन् । उनीहरूले दिएको रकम रिसिभ गरेको रसिद मसँग छ । उनीहरू मसँग अझै एक लाख रुपैयाँ मागिरहेका छन् । इमेलमार्फत विभिन्न धम्की दिइरहेका छन् । शुल्क नतिरेको भन्दै अबोध बालबालिकालाई विद्यालय प्रवेश गर्न रोक्नु कहाँसम्मको न्याय हो ?’ शुल्कबापत विद्यालयमा बुझाएको रकमको विवरण देखाउँदै कामीले प्रश्न गरे ।

काठमाडौं महानगरपालिकाले घटना सम्बन्धमा छानबिन भइरहेको जानकारी दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहका शिक्षा विभाग सचिवालय सल्लाहकार सस्मित पोखरेलले घटनाको सूचना महानगरपालिकामा पनि आएको र छानबिन भइरहेको बताए । नयाँपत्रिका दैनिक

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार