देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनको भाउ एकैदिन १२ सयले बढ्यो, तोलाको ९७ हजार ५ सय

0

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गरिरहेको छ । सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य एकैदिन १२ सय रुपैयाँले बढेर सोमबार नयाँ रेकर्ड कायम गरेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा सोमबार पनि अप्रत्यासित रुपमा बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै बढ्ने संकेत देखिएको छ महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आइतबार ५ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन सोमबार एकैदिन १२ सय रुपैयाँले बढेको हो ।

महासंघले शुक्रबार बिहान मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १८ सय ८८ अमेरिकी डलर थियो । बेलुकासम्म आइपुग्दा प्रतिऔस १८ सय ९३/९५ डलर भइरहेको थियो । डिसेम्बरसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

सुनलाई सुरक्षित लगानी रुपमा मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाएका कारण अहिले सुनको भाउ बढेको जानकारहरु बतााउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा चाँदीको मूल्यमा पनि ५५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको महासंघले बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार