Madhyabindu News App
राजनीति

देउवा पक्ष एक्लै निर्वाचन लडे हुन्छ, हामी बाहिरै बसेर रुखमा भोट हाल्छौँ – कोइराला पक्ष

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसभित्र प्रतिपक्षको रूपमा देखिएको डा. शेखर कोइराला पक्षले समानुपातिकको बन्द सूची सच्याउन र टिकट वितरणमा मनाेमानी नगर्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएकाे छ।

शनिबार काठमाडौंको एक पार्टिप्यालेसमा एक भेला आयोजना गरेर सभापति देउवा पक्षले आफूहरुकाे माग सम्बाेधन नगरे  निर्वाचनमा भाग नलिने चेतावनी पनि कोइराला पक्षधरले दिएका छन्।

कोइराला समर्थक नेताहरूकाे खबरदारी भेलामा उपस्थित भएकाहरूले यस्तो चेतावनी दिएका हुन्। भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरण हुँदा डा. कोइराला पक्षधरका नेताहरू कम्तीमा ४० प्रतिशत अटाउनु पर्ने जिकिर गरे।

‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवा आफैँले गरेका हुन्,’ केसीले भने, ‘उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको बिर्सनु हुँदैन। त्यसकारण अहिले उहाँले सम्मानजनक ढंगले टिकट वितरण गर्नुपर्छ। समानुपातिक सूचीमा आवश्यक परिवर्तन गर्नुपर्छ। नत्र देउवा पक्ष एक्लै निर्वाचन लडे हुन्छ, हामी बाहिरै बसेर रुख चिन्हमा भोट हाल्छौँ।’

सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनले समानुपातिकतर्फको टिकट वितरणको सूचि तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दवाव दिए ।

नेता घिमिरेले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईहरुलाई पनि राम्रो हुनैछैन । पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’

अर्का नेता भुपेन्द्रजंग शाहीले पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे । नेता शाहीले भने, ‘निर्वाचनमा टिकट पाईन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर, नेताको दास भएर बसिदैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’

भेलामा डा. शेखर कोइराला आफैँ भने उपस्थित भएनन्। न त महामन्त्री गगन थापा नै देखिए। यी दुवै नेता शनिबार विराटनगरमा छन्।

छुटाउनु भयो कि ?